
डा.लामिछाने भए इन्जिनियरिंग संकायका डीन
१४ पुस
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको इन्जिनियरिंग सङ्कायको डीनमा सह–प्राध्यापक डा. गोबिन्द प्रसाद लामिछाने नियुक्त भएका छन् ।
ललित विक्रम राणाले राजिनामा दिएपछि केही समय अघिदेखि खालि रहेको उक्त पदमा विश्वविद्यालय कार्यकारी परिषद्को आइतवार वसेको बैठकले लामिछानेलाई नियुक्ति गरेको सुचना अधिकारी विष्णुकमार खड्काले जानकारी दिए । नवनियुक्त डीन डा. लामिछानेलाई शुक्रवार विश्वविद्यालयको इन्जिनियरिङ सङ्कायको कार्यकक्षमा एक कार्यक्रमका बिच रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले पदभार ग्रहण गराए ।
कार्यक्रममा रजिष्ट्रार डा. मल्लले मुलुककै पिछडिएको साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा प्राविधिक उच्च शिक्षाको पहुँच विकास गर्न र विश्वविद्यालयको इन्जिनियरिंग सङ्कायलाई उद्देश्य अनुरूप संचालन गर्न प्राज्ञिक र प्रशासनिक रूपमा दक्षता प्राप्त गरेका बिज्ञ व्यक्तित्वको नियुक्तिले विश्वविद्यालय र समग्र क्षेत्र लाभान्वित हुने विश्वास व्यक्त गरे ।
त्यसैगरी नव नियुक्त डीन डा. लामिछानेले संक्रमणकालीन अवस्थामा पोखरा विश्वविद्यालयमा डीनको कार्यभार सम्हाली सकेको अनुभव समेतलाई सदुपयोग गरी सरोकारवाला सबैको सहकार्य र सहयोगमा विद्यार्थीको गुणस्तरीय इन्जिनियरिंग शिक्षा प्रदान गर्न आवश्यक परे कक्षाकोठामा पठनपाठन देखि ल्याबका काम समेतमा संग्लग्न हुने प्रतिबद्धता व्यक्त गरे ।