सुर्खेत, २ माघ
पञ्चपुरी नगरपालिका ५ की ११ वर्षिया सजना कसेरा विद्यालयमा नियमित हुँदैनथिन् । कहिले घरको काम त कहिले गृहकार्य नगरेको कारण विद्यालयमा विरलै मात्र उपस्थित हुन्थिन । नत उनलाई शिक्षकहरुले नै वास्ता गर्थे नत घरमा नै राम्रो हेरचाह पाउँथिन् । जसले गर्दा नतिजामा पनि उनी कक्षाका साथीहरुभन्दा पछाडी स्थान आउँथ्यो ।
नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा पाँच कक्षामा अध्ययनरत सजनाको सानैमा बुवा आमाको न्यानो काखबाट वञ्चित उनी बाजे बज्यैसँगै बस्दै आएकी छन् । दुई वर्षकै उमेरमा आमा गुमाएकी उनी बुवासँग पनि बस्न पाइनन् । सजनाको आमा बितेको केही समयपछि बुवाले पनि अर्काे विवाह गरेपछि उनलाई बज्यैले लगेर राखिन् । बज्यैसँग साँझ बिहानको काम सघाएर उनी विद्यालय आउनुपर्दा र घरमा हेरचाह गर्ने कोही नहुँदा गृहकार्य सकिएको हुदैनथ्यो । त्यसैमाथि स्कुल डे«स र कापिकलमको अभाव पनि झेलिरहेकी थिइन् ।जसले गर्दा उनी विद्यालय आउन मन गर्देनथिन् ।
तर आजभोली भने उनी नियमित विद्यालय आउन थालेकी छन् । विद्यालयमा विगत दुई वर्षदेखि सञ्चालन भएको बालसुलभ कक्षामा सहभागी भएपछि उनलाई विद्यालय आउन मन लागेको छ । त्यतिमात्र होइन उनी कक्षामा पढाईमा अगाडी पनि छन् ।
सोही विद्यालयमा कक्षा चार मा अध्ययनरत दिनेश सुनारको पनि बालसुलभ कक्षामा आउन थालेपछि पढाइमा सुधार आएको छ । उनी पनि अहिले नियमित विद्यालयमा आउने गरेका छन् । उनी पनि सानैमा बुवाको न्यानो काख पाएनन् । बुवा गुमाएपछि उनीसँगै ६ दिदिभाईको खर्चको जोहो गर्न आमाले मजदुरी गर्नुपर्छ । मजदुरी गरेको पैसाले साँझ बिहानको दुई छाक जोहो गर्न पनि मुस्किल छ । साँझ बिहानको दुई छाक जुटाउनै समस्या भएपछि कापिकलम र डे«स किन्ने त परैको कुरा भयो । त्यसैमाथि घरमा पढ्ने वातावरण नहुँदा विद्यालयको गृहकार्य पनि बाँकी हुन्थ्यो । जसको कारण उनी नियमित विद्यालय नियमित हुदैनथे ।
बालसुलभ कक्षामा आएर पढ्न थालेपछि रमाइलो लागेको सोही विद्यालयका अध्ययनरत पुजा सुनारले बताइन् । ‘यहाँ आएर साथीहरुसँग पढ्दा खुसी लागेको छ’ पुजा भन्छिन्, ‘हामी यहाँ स्कुलको होमवर्क गर्छौ अनि गीत गाउने र नाच्ने अनि अरु कार्यक्रम पनि मिसले गराउनुहुन्छ ।’
सजना, दिनेश र पुजा जस्तै यो समूदायका ३० जना भन्दा बढी बालवालिकाहरु बालसुलभ कक्षामा पढ्न आएपछि उनीहरु विद्यालयमा नियमित हुन थालेका छन् । आवाज संस्था सुर्खेतको ‘बालवालिका र महिलालाई न्यायमा पहुँचका लागि संरक्षण संयन्त्र÷संरचनामा सहजिकरण’परियोजना अन्र्तगत बालसुलभ कक्षा सञ्चालनमा आएपछि यस समूदायका विपन्न परिवारका बालवालिकाहरु लाभान्वित भएका छन् ।
बालसुलभ कक्षामा विपन्न परिवारका घरमा अभिभावकको हेरचाह नपाउने बालवालिका लाई विद्यालयको समय बाहेकको दिनको दुई घण्टा कक्षा सञ्चालन हुन्छ । जसमा एक घण्टा बालवालिकालाई अप्ठेरो लाग्ने गृहकार्य तथा पाठहरुको बारेमा सिकाइन्छ भने एक घण्टा अन्य नैतिक कुराहरु सिकाउनुको साथै सिर्जनात्मक क्रियाकलापहरु पनि गराइन्छ । एउटा कक्षामा ३० जना बालवालिका बालबालिकाहरु राखिएको छ ।
त्यसैगरी विद्यालयको डे«स तथा कापिकलम जुटाउन समस्या भएर विद्यालय नआउने बालवालिकाहरुलाई सहयोग पनि गरिएपछि अहिले विद्यालयमा बालवालिकाहरु नियमित हुन थालेको बालसुलभ कक्षाका सहजकर्ता जगतकुमारी खड्काले बताउनुभयो ।
बालसुलभ कक्षामा आउन थालेपछि बालवालिकाको पढाईमा सुधार भएको उक्त विद्यालयका प्रध्यानाध्यापक देविमाया चपाईले बताउनुभयो । यो समूदायका धेरैजसो बालवालिकाका अभिभावकहरु कामको शिलशिलामा भारत जाने भएकाले पनि उनीहरुको राम्रोसँग हेरविचार नहुने उहाँले बताउनुभयो । त्यसैगरी यहाँका बालवालिका नियमित विद्यालय नआउने र विद्यालयमा दिएको गृहकार्य पनि नगरेरै आउने जसको कारण उनीहरुको पढाईमा असर परेको थियो । ‘यहाँ बालवालिकाका हेरचाह गर्ने बालवालिका नै हुँछन्’ उहाँले भन्नुभयो, ‘आमाबुवा इण्डिया घरमा बालबाललिकाका हेरालु नै बालवालिका हुनुपर्ने अवस्था छ ।’ जसले गर्दा यहाँका बालवालिकाको पढाईमा असर पुग्ने गरेको उनले बताउनुभयो । विद्यालयमा बालसुलभ कक्षा सञ्चालन भएपछि विपन्न परिवारका बालवालिकाको पढाईमा सुधार आएको उहाँले सुनाउनुभयो । जसको कारण अहिले सिकाइ उपलब्धि पनि बढेको उहाँले बताउनुभयो । कक्षामा सहभागी भएका बालवालिका अहिले परीक्षामा पनि उत्कृष्ट हुने गरेको उनले प्रध्यानाध्यापक चपाईले बताउनुभयो । बावियाचौरमा बालसुलभका दुईवटा कक्षा सञ्चालन भएका छन् ।