सुर्खेत- ‘फिस्टुलाको समस्याबाट जोगिन जनचेतना जरुरी’ गर्भवति महिलाले पर्याप्त स्याहार नपाउँदा प्रशव फिस्टुलाको समस्या बढ्दै गइरहेको भन्दै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । प्रशव फिस्टुला दिवसको अवसरमा विहीबार फिस्टुला उपचार केन्द्रमा आयोजना गरिएको कार्यक्रमका सहभागीले फिस्टुलापीडित महिला अपहेलित हुनुपरेकाले मानवअधिकारको विषय जोडिएको जनाए । केन्द्रमा विरामीको उपचार गर्दै आइरुहेकी विशेषज्ञ डा. शेलीका अनुसार प्रशव अवस्थामा लामो व्यथा लागेपछि पिसाव चुहिरहने समस्या हुनु फिस्टुला हो । ‘गर्भवति महिलाको स्वास्थ्यमा ध्यान दिए र दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिए यो समस्याको समाधान गर्न सकिन्छ,’ उनले भनिन्, ‘सानै उमेरमा बच्चा जन्माउनु, गर्भवति अवस्थामा कम स्याहार गर्नु, गर्भवतिले पोषिलो खाना नखानु, असुरक्षित प्रसूति हुनुलगायत कारण यो समस्या ग्रामीण क्षेत्रमा बढ्दो छ ।’ साइनिङ अस्पतालका व्यवस्थापक मंगल थारुले फिस्टुलापीडित महिला समाजमा अपहेलित हुनुपरेको बताए । उनले रोकथामको पाटो धेरै भएकाले समस्या भएका महिलालाई समयमै उपचारमा ल्याउन जरुरी रहेको जनाए । प्रदेश अस्पतालकी नर्सिङ प्रमुख दिपा भट्टराइले गाउँमा गुणस्तरीय प्रसूति सेवा उपलव्ध नहुँदा फिस्टुलाको समस्या बढिरहेको बताइन् । प्रदेश अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डिनेन्ट डा. गणेश थापाले सरकारले निःशुल्क प्रदान गरेको गर्भवति जाँच सेवा निःशुल्क लिए र दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिए कोही पनि महिला यो समस्याबाट पीडित नहुने बताए । ‘महिला परिवारप्रति बढी बफादार रहँदाको रिजल्ट फिस्टुला हो,’ उनले भने, ‘गर्भवति अवस्थामा घरपरिवारले ध्यान दिए महिला यो समस्याबाट बच्न सक्छन् ।’ प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्याम कडेलले यो समस्या महिलाको मानव अधिकारसँग पनि जोडिएकाले सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । यसैबीच सुर्खेत फिस्टुला सेन्टरले प्रशब फिस्टुला भएका तीन सय महिलाको उपचार गरेको जनाएको छ । यसअघि विभिन्न घुम्ती शिविरमार्फत विरामीको उपचार गर्दै आइरहेको सेन्टरले एक वर्षदेखि प्रदेश अस्पतालस्थित आफ्नै भवनबाट विरामीको उपचार गरिरहेको छ । आइएनएफ र अस्पतालको सहकार्यमा सेन्टरले एक वर्षदेखि आफ्नै भवनबाट उपचार सेवा दिइरहेको हो । सेन्टरमा विदेशी विशेषज्ञ डा. शेलीसहित स्वास्थ्यकर्मीले उपचार सेवा दिइरहेका छन् । सेन्टरले फिस्टुलाबारे विभिन्न क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाएको छ । सेन्टरका अनुसार उपचार गरिएका महिलालाई केही समयसम्म जीविकोपार्जनका लागि आर्थिक सहयोग दिइने गरिएको छ ।