
कोभिड-१९ सँग सम्बन्धित विषयवस्तुमा बालबालिकालाई लक्षित गरी चर्चित हाँस्यप्रधान कार्यक्रम ‘पवनकली सो’ सुरु हुने भएको छ । सेभ द चिल्ड्रेन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रसँगको सहकार्यमा ‘पवनकली सो’ कार्यक्रम प्रशारणमा आउन लागेको हो ।
कार्यक्रम मूलत: बालबालिका लक्षित हुने भएपनि समग्र श्रोता/दर्शकले पनि मनोरञ्जन र सूचनाहरु प्राप्त गरी लाभ लिन सक्ने सेभ द चिल्ड्रेनले जनाएको छ । युट्युब र रेडियो माध्यममा आधारित रहि उत्पादन र प्रशारण गरिने कार्यक्रम १४ वैशाख देखि हरेक आईतबार बिहान ७:१५ देखि ७:३० सम्म सामुदायिक सूचना नेटवर्क (सिआईएन) मार्फत् देशैभरिका सामुदायिक रेडियोहरु, युट्युब र सामाजिक सञ्जालहरुबाट प्रशारण हुन लागेको हो ।
“कोभिड-१९ का कारण सिर्जित अहिलेको विषम परिस्थितिमा सञ्चार माध्यमहरुमा बालमैत्री सूचनामूलक सामग्रीको आवश्यकतालाई महसुस गरेर सेभ द चिल्ड्रेनले ‘पवनकली सो’ कार्यक्रमसँग सहकार्य गरी बालबालिका र समग्र श्रोता/दर्शकलाई लक्षित सामग्रीहरु प्रशारण गर्न लागिएको हो,” सेभ द चिल्ड्रेनका अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसाल भनिन् । रिसालका अनुसार हाँस्यप्रधान ढाँचाको यस कार्यक्रम बालबालिका र समग्र श्रोता/दर्शकलाई जानकार, सुसूचित र सचेत बनाउन प्रभावकारी हुनेछ । साथै यस कार्यक्रमले श्रोता/दर्शकलाई आफ्नो व्यवहार परिवर्तनका लागि अबलम्बन गर्नुपर्ने आनीबानीका बारेमा झक्झकाउने, सकारात्मक व्यवहारका लागि उत्प्रेरित गर्ने र फलस्वरुप कोभिड-१९ को संक्रमण रोक्नका लागि मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।
रंगकर्मी तथा नायिका लुनिभा तुलाधरले कार्यक्रम सञ्चालन गर्ने तथा कार्यक्रम उत्पादन समूहका सदस्यहरु र सहभागी सुरक्षित रहुन् भनेर सामाजिक दूरीका निर्देशिकाहरु पालना गर्दै कार्यक्रमको छायांकन गरिने सेभ द चिल्ड्रेनले जनाएको छ ।
रिसालका अनुसार युट्युब र रेडियो माध्यमका लागि उत्पादन गरिने कार्यक्रममा कोभिड-१९ बारेका अफवाह पत्ता लगाउने र रोक्ने तौरतरिका, मानसिक स्वास्थ्य, बालबालिका विरुद्ध हुने हिंसा, शैक्षिक सवालहरुमा मौलिक ठेट भाषामा नाटकीय प्रहसन/कमेडी प्रस्तुती हुनेछ । साथै, विज्ञहरु, चर्चित व्यक्तिहरु र देशका विभिन्न ठाउँबाट बालबालिकासँगको कुराकानी पनि यस कार्यक्रममा समेटिने भंएको छ ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक कुञ्ज जोशीले तथ्यपरक सूचनामा आधारित वेबसाईट र रेडियोबाट प्रशारण गरिने सामग्रीहरुले कोभिड-१९ सँग जोडिएर आउने गलत सूचनाहरु फैलिन नदिन र सहि सूचना प्रवाहका लागि सरकारलाई सघाउने विश्वास व्यक्त गरेका छन् ।