
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक बर्डफ्लु रोग देखिएको छ । वीरेन्द्रनगर–१२, नौलो टोलका स्थानीयवासीले पालेका विभिन्न जातका कुखुरामा बर्डफ्लु रोग देखिएको हो ।
बर्डफ्लु भित्रिएको आशङ्कामा पशु सेवा विभागले नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो । बर्डफ्लु पुष्टि भएपछि सबैतिर नियन्त्रणको प्रयास थालिएको पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।
पन्छीहरूमा महामारी रोग फैलिने सम्भावनालाई मध्यनजर गरेर निर्देशनालयको समन्वयमा शुक्रवार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठकले तत्काल बर्डफ्लु पुष्टि भएका स्थानीयका कुखुरा नष्ट गर्ने निर्णय गरेको हो ।
वीरेन्द्रनगरको नौलो टोलका दुई जना स्थानीयले पालेका २ सय ७९ कुखुरा, मध्ये १ सय २ परेवा, २२ वटा अण्डा र ३१ किलो दाना नष्ट गरिएको निर्देशनालयका निर्देशक मोहन गिरीले जानकारी दिनुभयो ।
उहाँले सुर्खेतमा बर्डफ्लु संक्रमण नियन्त्रणका लागि पशु सेवा विभाग काठमाडौँबाट वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायको नेतृत्वको चार सदस्यीय टोलीसँगै पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डा.कृष्णराज पाण्डे, डा. जितेन्द्र श्रेष्ठ, पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेश, वीरेन्द्रनगर नगरपालिका, १२ नम्बर वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति, राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारी, सम्बन्धित निकाय रोग नियन्त्रण शाखा समेत जुटिरहेको जनाउनुभयो ।
उहाँका अनुसार निर्देशनालयले कुनै पनि पन्छी फार्म वा अन्य पन्छी पालन वा बिक्री स्थलमा अस्वाभाविक रुपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवा निकायमा सूचना गर्न आग्रह गरिएको छ ।
भारतबाट आउने दानाबाट बर्डफ्लु भित्रिएको अनुमानसँगै लुकिछिपी ल्याएका दाना वा कुखुरा, हाँस, र टर्कीबाट बर्डफ्लु रोग सार्न सक्ने भएकाले सम्बद्धहरूले चेक जाँचमा कडाइ गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।
सरकारले भारतबाट भित्रिने पन्छी तथा पंक्षिजन्य वस्तुमा ६ वर्ष अघि नै प्रतिबन्ध लगाए पनि खुला सिमानाको फाइदा उठाउँदै भारतीय कुखुरा बाँके हुँदै कर्णाली प्रदेश भित्रिरहेको पाइएको छ ।
कुखुराको आयातमा पूर्णरुपमा प्रतिबन्ध नलगाए भयानक स्थिति आउन सक्ने भएकाले सम्बन्धित निकायले स्थानीय उपभोक्तालाई सजग हुन सचेत गराएको छ ।