
वीरेन्द्रनगर नगरपालिकाद्धारा सञ्चालित कटकुवा कोभिड अस्पताललाई पोर्टेबल अक्सिजन कन्सन्टेटर हस्तान्तरण गरिएको छ । वीरेन्द्रनगर ६ निवासी स्व नन्द बहादुर कार्की (काइला कार्की )का छोरा युनाइटेड नेसनका कन्ट्री म्यानेजर कोमल कार्की तरुण दलका पुर्व केन्द्रिय उपाध्यक्ष युवा व्यवसायी निरन्जन केसी र सिद्धपाइला क्याम्पसको सहयोगमा आज सात लिटरका तीन थान अक्सिजन कन्सन्टेटर हस्तान्तरण गरिएको हो । र्पोटेबल कन्सन्टेटर विद्युत्को माध्यमबाट बिरामीलाई अक्सिजन दिने उपकरण हो ।
उक्त मेसिन नगर प्रमुख देवकुमार सुवेदीलाई सिद्धपाइला क्याम्पसका प्रमुख उपेन्द्र सुवेदी र सुमन कार्की केसीले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । मेसिन ग्रहण गर्दै नगर प्रमुख सुवेदीले बजारमा अक्सिजन सिलिन्डरको अभाव भइरहेका बेला र्पोटेबल कन्सन्टेटर बिरामीलाई अक्सिजन दिने उपकरण पाउनुलाई महत्वपूर्ण उपलब्धी मान्न सकिने भएको बताउनुभयो । साथै, उहाँले नगरको आफ्नै व्यवस्थापनमा सञ्चालन भएको कोभिड अस्पताललाई सहयोगी हातको खाँचो रहेको औंल्याउनुभयो । “यतिबेला सबैको सहयोग भएमा कोरोना महामारीलाई जित्न सकिन्छ, स्वास्थ्य पूर्वाधारदेखि जनशक्तिको अभाव हुँदाहुँदै नगरले आफ्नै स्रोतले अस्पताल सञ्चालनमा ल्याएको छ,” नगर प्रमुख सुवेदीले भन्नुभयो, “कसैको सानो सहयोगले बिरामीको ज्यान जोगिन्छ भने किन सहयोग नगर्ने ? त्यसैले सबैले फराकिलो मनले सहयोगी हातहरु अघि बढाउन सके हाम्रा पूर्वाधार व्यवस्थित बन्न मद्दत पुग्नेछ ।” तरुण दलका पुर्व केन्द्रिय उपाध्यक्ष व्यवसायी निरन्जन केसीले नगर अस्पताललाई दैनिक बिरामीको उपचार र व्यवस्थापनमा सहयोग होस् भने मनसायले आफुले सहयोग गरेको बताउनुभयो ।उहाँले नगरपालिकाबाट संचालित कोभिड अस्पताललाई गुणस्तरीय सेवा प्रवाह गर्नका लागि अन्य सहयोगी हातहरुलाइ समेत सहयोग गर्न आग्रह गर्नुभयो ।
हस्तान्तरण कार्यक्रममा प्रदेश अस्पतालका कन्सल्टेन्ट डा नवराज केसी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल नेपाली काङ्ग्रेसका नगर सचीव उपेन्द्र खड्का लगायतको उपस्थिति थियो । कोभिड १९ को दोस्रो लहर फैलिएपछि वीरेन्द्रनगरले स्वास्थ्य चौकीलाई २५ शैयाको कोभिड अस्पतालका रुपमा स्तरोन्नति गरेको हो ।
कोभिड अस्पतालबाट नगरपालिकाले आपतकालीन सेवाका लागि नयाँ एम्बुलेन्स पनि सन्चलानमा ल्याएको छ भने काेभिडकाे परिक्षणकाे दायरासमेत बढाएकाे छ ।