
सुर्खेत । योजना निर्माण सम्पन्न भएको लामो समय सम्म पनि रकम भुक्तानी नभएको भन्दै सुर्खेतका निर्माण व्यवसायी आन्दोलित बनेका छन् । नेपाल सरकार, कर्णाली प्रदेश सरकारका विभिन्न मातहतबाट बोलपत्र आवह्रान अनुसार ठेक्का सम्झौता गरि निर्माण गरी सम्झौता अनुसार बिल भरपाई सम्बन्धीत निकायमा पेश गर्दा पनि रकम भुक्तानी नभको भन्दै आक्रोशित बनेका हुन् ।
सम्बन्धित निकायलाई पटक–पटक ताकेता गर्दा पनि कुनै सुनुवाई नभएको उनीहरुको गुनासो छ । समयमा नै भुक्तानी नहुँदा थप निर्माण कार्य अवरुद्ध हुने श्रृजना आहुँदा पनि सरोकारवाला निकायहरु मौन बस्नु निर्माण व्यवसायको योगदान प्रति गम्भिर नभएको व्यवसायीले बताएका छन् ।

सुर्खेत सहित कर्णाली प्रदेशका अधिकांश निर्माण व्यवसायीको गत आर्थिक बर्ष २०७७÷०७८ र चालु आव २०७८÷०७९ को रकम भुक्तानी नभएको भन्दै व्यवसायीले बिहीबार जिल्ला प्रशासन कार्यालय सुर्खेत, मुख्यमन्त्री जीवनबहादुर शाही र भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेशलाई ज्ञापन बुझाएका छन् ।
यहि चैत्र १७ गतेबाट २४ गते सम्म सरोकारवाला निकायले सम्झौता बमोजिम पेश भएका बिल भरपाईको रकम भुक्तानी नभएमा निर्माण कार्य अवरुद्ध गरी सरोकारवाला निकायमा तालाबन्दी र निर्माण स्थल आन्दोलन सम्मका विरोध कार्यक्रम गर्ने व्यवसायीले चेतावनी दिएका छन् । आन्दोलनको क्रममा कुनै क्षेति भएमा सम्बन्धीत सरोकारवाला निकाय नै जिम्मेबार हुनुपर्ने उनीहरुको भनाई छ ।
कर्णालीका अन्य जिल्लाहरु भन्दा धेरै निर्माण व्यवसायी रहेको सुर्खेतमा मात्रै झण्डै १ अर्ब भन्दा बढि रकम भुक्तानी हुन बाँकी रहेको नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतका का.अध्यक्ष विक्रम गिरीले बताए ।