
सुर्खेत । मेडिकलजन्य फोहरमैला व्यवस्थापन, औषधिको समुचित प्रयोगबारे मेडिकल व्यवसायीहरुले छलफल गरेका छन् । संवेदनशिल क्षेत्र मेडिकलको फोहरमैला व्यवस्थापनका लागि सम्बन्धीत स्थानीय तह संगको सहकार्य, कानूनी कुराहरुको बिषयमा छलफल गरिएको हो ।
बिहीबार नेपाल औषधि व्यवसायिक संघ कर्णाली प्रदेश तथा जिल्ला शाखा सुर्खेतले संयुक्त रुपमा आयोजना गरिएको मेडिकलजन्य फोहोरमैला व्यवस्थापन, औषधिको समुचित प्रयोग तथा परिवार योजना सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले सरकारी क्षेत्रबाट उत्साहमुलक सहयोगको अपेक्षा गरेका छन् ।
कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेशका अध्यक्ष प्रेमबहादुर भण्डारीले दर्ता नगरेर गैरजिम्मेवारपूर्ण रुपमा काम गरीरहेका फारमेसीहरुलाई राज्यले नियन्त्रणको लागि सक्रियता देखाउनुपर्ने बताए । राज्यबाट सञ्चालित निकाय भन्दा औषधी व्यवसायीसंघको सेवा कुनै कम नभएको भन्दै भण्डारीले सरकारी क्षेत्रबाट सकारात्मक सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ सुर्खेत शाखाका अध्यक्ष रणबहादुर खड्काले वीरेन्द्रनगर नगरपालिका संगको सम्झौता अनुसार वीरेन्द्रनगरमा मेडिकलजन्य फोहर व्यवस्थापनको काम गरीरहेको बताए । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकामा बढ्दो जनसंख्याले दैनिक १९ टन फोहोर उत्पादन हुने गरेको छ । त्यो मध्ये ५७ प्रतिशत कुहिने र ४३ प्रतिशत नकुहिने फोहोर उत्पादन हुने गरेको छ ।
सबै निकायहरु सक्रिय रुपमा लागेको अवस्थामा फोहोर व्यवस्थापन गर्न खासै कठिन नरहेको वीरेन्द्रनगर नगरपालिकाका बरिष्ठ अधिकृत प्रकाश पौडेलले बताए । हाल विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको सहयोगको फोहोर व्यवस्थापनको काम गरीरहेको समेत उनले बताए ।

कार्यक्रममा नेपाल औषधी व्यवस्था विभाग नेपालगञ्जका अधिकृत दिपेन्द्र कुमार शाहले औषधि बिक्री वितरण संहिता २०७१ सम्बन्धी जानकारी दिएका थिए । यस्तै अन्य विभिन्न ऐन, कानून, पछिल्लो समय मेडिकल क्षेत्रमा देखिएका जटिलताहरुको बिषयमा समेत प्रस्तुतिकरण गरिएको थियो । मूमेन्टम प्राईभेट हेल्थकेयर डेलिभरी नेपाल परियोजनाको सहयोगमा आयोजना गरिएको कार्यक्रममा सुर्खेत तथा सम्बन्धीत अन्य विभिन्न क्षेत्रका मेडिकल व्यवसायीहरुको सहभागिता रहेको थियो ।