
नेकपा एकिकृत समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवाल एमालेमा फर्किएका छन् । तत्कालिन नेकपा विभाजनपछि बडुवाल माधव नेपाल नेतृत्वको समाजवादीमा लागेका थिए । पार्टी विभाजन हुनु अघि उनी एमाले जिल्ला पार्टी सचिव थिए ।
बडुवाल गत मंसिरमा सम्पन्न सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका थिए । पाँच दलिय गठवन्धनले बडुवाललाई टिकट नदिएपछि उनी उति बेलै पार्टी र गठवन्धबाट रुष्ट बनेका थिए । पार्टीबाट टिकट लिएर मित्रवत प्रतिस्पर्धा गरेका बडुवाल गठवन्धन दल नेकपा माओवादी केन्द्रका विन्दमान विष्टसँग पराजित भएका थिए ।
बडुवाललाई बुधबार एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रवेशपछि बोल्दै बडुवालले जनताको बहुदलिय जनवादको रक्षाका लागि आफ्नै घर फर्किएको जनाए । पछिल्लो समय समाजवादी अरुको खुट्टामा टेकेर पार्टीको विधि र सिद्धान्त बिर्सदै गएपछि आफु पार्टीमा फर्किएको उनको भनाई छ ।
बडुवालसहित जिल्ला र केन्द्रीय कमिटी, विद्यार्थी संगठन लगायतका जनवर्गिय संगठनका सदस्य तथा पदाधिकारीहरु एमाले प्रवेश गरेका हुन् । पार्टीमा स्वागत गर्दै महासचिव पोखरेलले पार्टीमा फर्किएका सबैलाई उचित स्थान र जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त गरे ।