हेटौंडामा बिरामीहरूको उपचार गरिरहेका डा.बिकास थापा र डा.प्रशान्त बिडारीलाई आक्रमण गर्ने दोषीलाई कार्वाहीको दाएरामा नल्याएको भन्दै नेपाल चिकित्सक संघले आईतवार (भदौ ३१) गते देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।
भदौ २७ गते हेटौंडामा बिरामीहरूको उपचार गरिरहेका डा.बिकास थापा र डा.प्रशान्त बिडारीलाई साङ्घातिक आक्रमण गरि घाइते बनाएको घटनाप्रति विरोध गर्दै संघले (आइतबार) देशैभरका अस्पताल र स्वास्थ्य संस्थाका सेवा बन्द गर्ने निर्णय गरेको हाे।
घटना प्रति नेपाल चिकित्सक संघले विज्ञप्ति निकालेर विरोध गरेको छ। ‘आइतबार एक दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरिएको छ,’ संघका अध्यक्ष डा. अनिल बिक्रम कार्की र महासचिव डा. सजिब तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।