सुर्खेत,असार ३१।
गरिबी निवारण गर्नका लागि सुर्खेतका नौ वटै स्थानीय तहका विभिन्न वडामा रही काम गर्दै आएका संस्थाले तथ्यांकगत ठोस परिणाम निकाल्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।
गरिबी निवारण कोष अन्तर्गत गरिबी निवारण कार्यक्रम संचालन गरिरहेका सुर्खेतका पाँच वटा संस्थाले वीरेन्द्रनगरमा आयोजना गरेको वार्षिक समिक्षा गोष्ठीमा सहभागीले यस्तो बताएका हुन् ।
उनीहरुले विभिन्न उद्यम व्यवसायबाट आर्थिक रुपान्तरण केही मात्रामा भएपनि सामाजिक रुपान्तरण हुन नसकेको बताए । गरिबीको रेखामुनि परेकालाई माथि उकास्नका लागि यो कार्यक्रम लागु गरिए पनि अँझै उपलब्धी मुलक काम हुन नसकेको पनि सहभागीले उल्लेख गरेका थिए ।
विनियोजित बजेट बराबरको काम भन्दा पनि केही माथि उठेर कार्यक्रम संचालन गर्न सके उनीहरुको व्यवसाय दीर्घ हुन सक्ने सहभागीले सुझाव दिएका थिए ।
कार्यक्रममा संकलन भएका सुझाव र प्रश्नको सम्बोधन गर्दै जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत टंकप्रकाश लामीछानेले सबैसँग सहकार्य गरी उत्कृष्ट परिणाम निकाल्ने तर्फ ध्यान केन्द्रित गर्ने प्रतिवद्धता जनाए । त्यस्तै, स्थानीय विकास अधिकारी अमृत लम्सालले पनि चुनौतीका बीच काम गर्नुपर्ने भएकाले पनि समस्या भएकाले जति सक्दो उल्लेखनीय काम गर्ने बताए ।
सुर्खेतको साविकका ३२ वटा गाविस र अहिलेका नौ वटै स्थानीय तहमा जिल्ला समन्वय समिति, समाज जागरण केन्द्र (स्याक) नेपाल, कोडेड नेपाल, सुन्दर नेपाल संस्था र सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) ले गरिबी निवारणका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छन् । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि लगायतको सहभागिता थियो ।