
डडेल्धुरा । मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट सर्वसम्मत उम्मेदवार बनेका छन्। कांग्रेस डडेल्धुराको मंगलबार बसेको बैठकले देउवालाई पार्टीबाट सर्वसम्मत उम्मेदवार बनाएको हो। देउवा २०४८ साल देखि डडेल्धुराबाट निरन्तर उम्मेदवार बन्दै आएका छन्। उनी अहिलेसम्म भएका सबै निर्वाचनमा विजयी हुने व्यक्तित्व हुन् ।
प्रतिनिधि सभामा समानुपातिक उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। देउवा पत्नी डा. आरजू राणाको नाम पनि प्रतिनिधि सभामा समानुपातिक उम्मेदवारतर्फ सिफारिस भएको छ। यस्तै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र अर्का नेता नरभान कामीको नाम पनि समानुपातिकमा सिफारिस भएको छ।
प्रदेशमा भने दुई निर्वाचन क्षेत्र गरी करिब दुई दर्जन नेताहरुले उम्मेदवारी दाबी गरेका छन्। नेविसंघ अध्यक्ष महरको नाम प्रतिनिधि सभामा समानुपातिकमा सिफारिस हुनुका साथै प्रदेशतर्फ प्रत्यक्ष उम्मेदवारमा पनि सिफारिस भएको छ। डडेल्धुरा क्षेत्र नं १ बाट प्रदेशमा प्रत्यक्ष निर्वाचनमा महरको नाम सिफारिस भएको हो।
यस्तै उक्त क्षेत्रबाट पूर्व जिल्ला सभापति रघु भट्ट, कैलाश पाण्डे, हेमराज चटौत, विरेन्द्र थापाको नाम पनि प्रत्यक्षतर्फ सिफारिस भएको छ । दुई क्षेत्र भएको डडेल्धुरामा क्षेत्र नं २ मा गोविन्द बोहरा, शेरबहादुर भण्डारी, भानु देउवा, हरी भट्ट, मोहन पाठक, भोजराज भट्ट, लक्ष्मी अवस्थीको नाम प्रत्यक्षतर्फ सिफारिस भएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ।
उता स्पस्टिकरणमा परेको भनिएका पार्टी सभापति कर्ण मल्लले भने सिफारिसमा परेको उम्मेदवारको फरक सूची सार्वजनिक गरेका छन् । मल्लले सार्वजनिक गरेको सूचीमा पनि पार्टी सभापति देउवाको नाम सिफारिस गरिएको छ ।