चैत ९ ,सुर्खेत
यही २०७४ माघ २६ गतेदेखि फागुन ८ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा संचालन भएको प्रदेशस्तरीय औद्योगिक व्यापार पर्यटन तथा कृषि महोत्सवको आय–व्यय सार्वजनिक गरिएको छ । प्रदेशस्तरीय औद्योगिक व्यापार पर्यटन तथा कृषि महोत्सवमा खुद मुनाफा ३८ लाख ६८ हजार ८ सय ९८ रुपैयाँ भएको जनाइएको छ । शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै महोत्सवका संयोजक तथा कर्णाली प्रदेश उद्योग बाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाहीले आय–व्यय प्रस्तुत गरेका थिए । अध्यक्ष शाहीका अनुसार ६ लाख ७७ हजार ६ सय ५७ रुपैयाँ खर्च भएको छ । विभिन्न प्रयोजकहरुसँग ११ लाख ८५ हजार रुपैयाँ उठाउन बाँकी रहेको समेत अध्यक्ष शाहीले बताए । ३ लाख ६१ हजार ३ सय ६२ रुपैयाँ भने अझैँ तिर्न बाँकी रहेको संयोजक शाहीले बताए ।
महोत्सवबाट भएको खुद नाफाबाट सुर्खेत उपत्यका नगर विकाससँग जग्गा लिई प्रदेश उद्योग बाणिज्य महासंघको भवन निर्माण कार्यमा खर्च गरिने बताइएको छ । महोत्सव लगाउनुको उद्देश्य प्राप्ति भएको भन्दै अध्यक्ष शाहीले निकट भविष्यमा नै भवन निर्माण समिति गठन गरि भवन निर्माणको काम अघि बढाइने बताए ।
उद्योग वाणिज्य महासंघ ६ नं. प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले १५ दिन भित्र महोत्सवको आय व्यय सार्वजनिक गर्ने प्रतिवद्धता गरेपनि महासंघ केनद्रको निर्वाचनका कारण भनेको समयमा आय –व्यय प्रस्तुत गर्न नसकिएको बताए । मूल आयोजक समितिको तर्फबाट संयोजक शाहीले सुरक्षा निकाय, व्यापारी, उद्योगी, दर्शक, पत्रकार एवम् सहआयोजक र प्रयोजकहरु सबैलाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै मूल आयोजक समितिका संयोजकले भने, यो महोत्सव कुनै व्यक्तिको स्वार्थको लागि वा व्यक्तिगत लाभ लिनका लागि गरिएको महोत्सव थिएन र त्यसरी महोत्सवको आयोजना गर्नु राम्रो पनि होइन । तर सार्वजनिक हक, हित र पर्यटकीय तथा व्यापारीक प्रयोजनका लागि यस्ता महोत्सवहरु भइराख्नु पर्ने भन्दै उनले आगामी दिनहरुमा समेत सबै पक्षबाट साथ र सहयोगको अपेक्षा गरेको बताए ।