
सुर्खेत । उच्च अदालत सुर्खेतले यही चैत्र २६ गते हुन लागेको सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन तत्काल नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । अदालतका कायममुकाय मुख्य न्यायाधीस शेषराज सिवाकोटीको एकल ईजलासले दुवै पक्षको भनाई सुनी निष्कर्षमा पुग्नु पर्ने उचित देखिएकाले तत्कालका लागि निर्वाचन प्रक्रिया अघि नबढाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।
यस अघि सुर्खेत उद्योग वाणिज्य संघले चैत २६ गते निर्वाचन गर्ने गरी मतदाता नामावली समेत प्रकाशन गरेपछि सुरेन्द्रकुमार मल्लले निर्वाचन रोकी पाउँ भन्दै उच्च अदालत सुर्खेतमा बिहीबार रिट दायर गरेका थिए ।
अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई यहीँ चैत्र २४ गते बोलाउन पेसी तारेख तोकिएको अदालतका उप–रजिष्ट्रार सरोजनिधि वाग्लेले बताए । संघभित्र असन्तुष्ट व्यापारीहरुले निर्वाचन रोक्नु पर्ने माग गर्दै अदालत पुगेपछि अदालतले मुद्दाको अन्तिम किनारा नलगाउँदासम्म तत्कालका लागि निर्वाचन कार्यतालिका रोकेको हो ।
उद्योग वाणिज्य संघ भित्र लामो समय देखि सदस्यता नविकरण विवाद छ । लामो समय देखि संघको सदस्य रहेका व्याक्तिको समेत सदस्यता खारेज भए पछि असन्तुष्ट समूह अदालत पुगेको हो ।