
सुर्खेत । स्थानीय तहको निर्वाचन नजिकिए संगै राजनीतिक दलहरुले आ–आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरीरहेका छन् । नेकपा एमाले र नेपाली कांग्रेस बिच मुख्य प्रतिस्पर्दा हुने दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा उम्मेदवारहरुले नगरभर पूर्ण रुपमा विद्युत विस्तार गर्ने देखि लगेर एक घर एक रोजगारी दिने सम्मको अवधारणा सार्वजनिक गरेका छन् ।
नेकपा एमालेबाट नगर प्रमुखका उम्मेदवार बनेका सुर्यबहादुर शाहीले सार्वजनिक गरेको एक सय एक प्रतिवद्धतामा रोजगार, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका कुराहरुलाई जोड दिइएको छ । रोजगारका कुनै अवसर नपाएका घरधुरीका लागि सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत एक घर एक रोजगार कार्यक्रम सञ्चालन गर्ने, खानेपानीको समस्या समाधान गर्नको लागि एक घर एक धाराको अभियानलाई कार्यालय गर्ने, एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन गरिने, नगर प्रमुखसंग जनता कार्यक्रम, चामुण्डाबिन्द्रासैनीको भिजन २०३२ तयार गर्ने लगायतका प्रतिवद्धता व्यक्त गरेका छन् ।
यस्तै एक वडामा कम्तिमा एक सार्वजनिक नमुना विद्यालय घोषणा गरी शैक्षिक गुणस्तरकामा सुधार गर्ने, विपन्न विद्यार्थीलाई नगरप्रमुख छात्रवृति दिने कार्यक्रमलाई निरन्तरता दिने जस्ता प्रतिवद्धताहरु जनाइएको छ ।
यस्तै नेपाली कांग्रेसबाट नगर प्रमुखका उम्मेदवार बनेका गणेशबहादुर शाहीले राष्ट्रिय विद्युत प्रसारण लाईनलाई नगरभरी विद्युत विस्तारिकरण गर्ने, रामघाट खोला, तोल्पा, मटेला, भम्पे लगायतका क्षेत्रहरुमा परिक्षण गरी साना जलविद्युत आयोजना निर्माण गर्ने, मजुवा खानेपानी नगरका वडा नम्बर १ देखि ९ डौसुर सम्म निरन्तर सञ्चालन गरी प्रत्येक घरघरमा धारा जडान गर्ने जस्ता कुराहरु घोषणा पत्रमा सार्वजनिक गरेका छन् ।
यस्तै प्रर्यटन प्रवद्र्धनको लागि वडा नम्बर १ को पाल्त र तिजडाँडामा होमस्टे निर्माण गर्ने, गुणस्तरीय शिक्षालाई जोड दिनको लागि ‘जिम्मेवार शिक्षक तथा अभिभावक र मिहिनेती एवम इमान्दार विद्यार्थी’ को अवधारण ल्याउने, प्रत्येक विद्यालयमा एक शिक्षक एक ल्यापटपको व्यवस्था गरी शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाइने जस्ता कार्यक्रम अघि सारेका छन् ।
स्थानीय खाद्यन्नलाई संरक्षण गर्न बिशेष प्रकारको नीतिसहित ‘बिउ बैंक’ स्थापना गर्ने, कृषकलाई बाली बिमा, पशु बिमा गर्न प्रोत्साहन गर्ने, ९ वटै वडामा स्वास्थ्य चौकीको स्तरउन्नती गरेर गुणस्तरीय सेवा प्रदान गर्ने, ६० बर्ष भन्दा माथिका वृद्धवृद्धाको उपचारका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जस्ताप्रतिवद्धताहरु सार्वजनिक गरेका छन् ।
एकिकृत बस्ती विकास कार्यक्रमलाई जोड दिने, दलित आय आर्जन कार्यक्रम प्रत्येक बर्ष सञ्चालन गर्ने, घर नभई टहरामा बसेका घरपरिवारलाई घर निर्माण गर्ने, नगरमा सुकम्बासीको समस्या समाधान गर्न जग्गा धनी पुर्जा लालपुर्जा उपलब्ध गराईने, नगर स्तरीय रंगशाला उपयुक्त स्थान छनोट गरी दुई बर्षमा बनाउने जस्ता थुप्रै प्रतिवद्धताहरु जनाएका छन् ।
चामुण्डामा नगर प्रमुखका अन्य उम्मेदवारहरु, उप–प्रमुख, वडा अध्यक्ष लगायतका उम्मेदवारहरुले पनि शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी जस्ता कुराहरुलाई प्रथामिकतामा राख्दै आफ्नो प्रतिवद्धता जनाएको छन् ।