देउतीखवर संम्वाददाता , सुर्खेत २१ असोज ।
नेपाल पत्रकार महासंघका ६ नं. प्रदेश केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईंलाई सुर्खेत शाखाले शनिवार सम्मान गरेको छ । गत बैशाखमा महासंघको २५ औं महाधिवेशनले कलेन्द्र सेजुवाल सहित चौलागाईलाई ६ नं. प्रदेश केन्द्रीय सदस्यमा निर्वाचित गरेको थियो । केन्द्रीय सदस्य चौलागाईंले आप्mनो कार्यकाल श्रमजीवि पत्रकारहरुको हकहितका लागि समर्पित रहने बताएका छन् । उनले पत्रकारको वीमा, क्षमता अभिवृद्धि र प्रदेश नं. ६ को महत्वपूर्ण स्थानहरुको प्रचारप्रसारका लागि महासंघमा आफ्नो भूमिक सशक्त हुने प्रतिवद्धता जनाए । उनले कार्यकाल सफल बनाउनका लागि पनि यस प्रदेशका सम्पूर्ण संचारकर्मीहरुको साथ र समर्थन आवश्यक भएकोले आफूले त्यसको पनि अपेक्षा गरेको बताए । अन्यको तुलनामा प्रदेश नं. ६ बढी पिछडिएको हुनाले संचार माध्यमको विकास र संचारकर्मीहरुको क्षमता विकासका लागि केन्द्रमा आफूले पहल र समन्वय गर्ने आश्वासन केन्द्रीय सदस्य चौलागाईंले दिए । सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारतीले पत्रकार र पत्रकारिताको विकास लागि केन्द्रीय सदस्यको कार्यकाल सफल रहने आशा व्यक्त गरे । कार्यक्रममा उपाध्यक्ष ललित बसेलले स्वागत र सचिव सुदीप पुरीले संचालन गरेका थिए ।