सुर्खेत
यात्रुलाई बसपार्कमा यात्राका लागि असहज वातावरण सिर्जना गर्ने सात जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । यात्रु तानातान गर्ने र आफूसँग नआउने यात्रुलाई अभद्र व्यवहार गर्ने कर्मचारीलाई मंगलबार र बुधबार प्रहरीले नियन्त्रणमा लिइएको हो । सवारीका कर्मचारीलाई यात्रुसँग अमानविय व्यवहार गरिरहेकै अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ वीरेन्द्रनगर–९ का २५ वर्षीय चक्रबहादुर शाही, कालिकोट खाँडाचक्र नगरपालिका–१ का २३ वर्षीय अर्जुन मल्ल, सुर्खेतको गुर्भाकोट नगरपालिका–६ का १८ वर्षीय महेश सोमैमगर, जुम्ला डुम्रीका १९ वर्षीय रमेश शाही र अछामको तुर्मखाँद गाउँपालिका–७ का १८ वर्षीय नमराज न्यौपानेलाई यात्रुलाई जबरजस्ती गाडीमा चढाउन लाग्दा नियन्त्रणमा लिइएको हो ।
बुधबार बिहान पुनः प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । लामो समयदेखि यात्रुले बस व्यवसायी र कर्मचारीले अभद्र व्यवहार गर्ने गरेको गुनासो गरेपछि बसपार्कमा निरन्तर निगरानी गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामसिंह चौधरीले बताए । बुधबार बिहान वीरेन्द्रनगर–९ का २८ वर्षीय नकेन्द्र खत्री र ३८ वर्षीय सन्दीप परियारलाई यात्रुसँग विवाद गरेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका बसका कर्मचारीलाई कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको चौधरीको भनाइ छ ।
बस व्यवसायीहरुको दादागिरीका कारण दैनिक यात्रुले सास्ती भोग्नुपरेको छ । यात्रा गर्नका लागि बसपार्क पुग्ने प्रत्येक यात्रुले व्यवसायीको तानातान खेप्नु पर्छ ।