कर्णाली प्रदेश सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी भोलि (फागुन १३ देखि चैत ७) सम्म जाजरकोट र पश्चिम रुकुमबाहेक कर्णालीका ८ जिल्लमा खोप अभियान सञ्चालन गर्ने भएको छ । अभियानअन्तर्गत कर्णालीमा १ लाख ४७ हजार ४ सय ४४ बालबालिकालाई खोप लगाइने लक्ष्य रहेको प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले जनाएको छ । दादुरा–रुवेलासँगै अन्य नियमित लगाइँदै आएका खोपसमेत लगाइने योजना छ ।
खोप अभियानमा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिका सहभागी हुनेछन् । प्रदेशभर १ हजार ४ सय बढी खोप केन्द्रबाट बालबालिकालाई खोप लगाउने योजन रहेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका वरिष्ठ जनस्वाथ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । खोप शतप्रतिशत प्रभावकारी र सुरक्षित रहेको कँडेलको भनाइ छ ।
उनका अनुसार भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा यसअिघ नै दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन भइसकेकोे छ । सरकारले सन् २०२३ सम्म दादुरा–रुवेलालाई शून्यमा झार्ने राष्ट्रिय लक्ष्य राखेको थियो । तर, सरकारको यो लक्ष्य पुरा हुन नसकेपछि दोस्रोपटक सन् २०२६ सम्म दादुरा–रुवेलालाई शून्यमा झार्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न लागिएको कँडेलको भनाइ छ । खोपद्वारा बचाउन सकिने रोगहरू नियन्त्रण गरी बाल मृत्युदर र अपाङ्गता घटाउने उद्देश्यले सरकारले विभिन्न प्रकारका खोप अभियानहरू सञ्चालन गर्दै आएको छ ।