सुर्खेत १३ फागुन– कर्णाली प्रदेशको दोस्रो मन्त्रिपरिषद बैठकले सभामुख र मन्त्रीका लागी आवास ब्यवस्थापन गर्न समिति गठन गरेको छ ।
आइतवार बसेको बैठकले भौतिक पुर्वाधार विकास मन्त्री खडक वहादुर खत्रीको संयोकत्वमा पाँच सदस्यीय आवास ब्यवस्थापन समिति गठन गरेको सकारकाका प्रवक्ता एवम् भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । उक्त समितिमा सामाजिक विकास मन्त्रालयका उपसचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव, भवनविभागका इन्जिनियर मन्त्रालयका अधिकृत सदस्य छन् । बैठकले प्रदेशको सुरक्षा ब्यवस्था सुधार तथा आवास ब्यवस्थापन गर्ने निर्णय गरेको मन्त्री केसीले जानकारी दिइन् ।
भौतिक पुर्वाधार विकास मन्त्रीको नेतृत्वमा रहेको समितिले सुर्खेतमा भएका संरचनाहरुको लागत संकलन गर्ने, लागत संकलनपछि तत्काल मन्त्री, सभामुख तथा उपसभामुखको आवासको व्यवस्था गरिने उनको भनाइ थियो ।
‘पहिलो चरणमा सभामुख, उपसभामुख र मन्त्रीहरुको आवास ब्यवस्थापन गरपछि सांसदहरुको पनि आवासको ब्यवस्था गरिनेछ,’ मन्त्री केसीले भनिन्, ‘कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आवासका लागि भौतिक पूर्वाधारहरुको कमी छैन, त्यसलाई व्यवस्थित गर्न नसकिएको मात्र हो ,अबको केही समयमा सवै व्यवस्था हुन्छ ।’
अहिलेसम्म पनि सभामुख आफन्तको निवासमा र दुई जना मन्त्री होटलमा बसिरहेकाले सो व्यवस्थापनमा जुटेको उनको भनाई थियो ।
सांसदका लागि पनि आवासको तयारी हुँदै
कर्णाली प्रदेश सरकारकी प्रवक्ता मन्त्री केसीले सांसदहरुका लागि समेत आवासको व्यवस्था गर्नेगरी तयारी अघि बढेको जानकारी दिइन् । उनले आगामी चैतसम्म विभिन्न क्षेत्रीय कार्यालयहरु खाली हुने र त्यसैमा संसदहरुलाई समेत व्यवस्थापन गर्नेबारे छलफल चलिरहेको बताइन ।
होटलमा वास
आवासको ब्यवस्थापन नहुँदा सभामुख र दुई जना मन्त्रीहरु अझै सम्म आफन्तको घर तथा होटलमा बसेका छन् । यसरी होटलमा बस्नेहरु मन्त्रीमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला भ्याली भ्यु होटल, भौतिक पुर्वाधार विकास मन्त्री खडकवहादुर खत्री राप्ती होटल रहेका छन् । सभामुख राजवहादुर शाही र उपसभामुख पुष्पा घर्ति आफन्तको घरमा बसिरहेका छन् ।
आवासको ब्यवस्था नहुँदा वसाइको ब्यवस्थापनमा समस्या भएको कर्णाली प्रदेशका सभामुख राजवहादुर शाहीले जानकारी दिए ।
आवासको ब्यवस्था नहँुदा सुरक्षा ब्यवस्थापनमा समेत समस्या भएकोले सुरक्षाकर्मीको बसाई ब्यवस्थापन गर्न नसकेको उनको भनाइ थियो । ‘मेरा लागी सरकारले १५ जना सुरक्षाकर्मी उपलब्ध गराएको छ, आफन्तको घरमा बसेको छु, अहिले मसंग आफूबाहेक अरुलाई वस्ने ठाँउ छैन, कसरी ब्यवस्था गरौं ?’ सभामुख शाहीले थपे, ‘सरकारले समयमै आवासको ब्यवस्थापनको काम गरे सचिवालय तथा सुरक्षा ब्यवस्थाको ब्यवस्थापनमा सहज हुने थियो ।’