देउतीखबर सम्बादाता , भदौ १७ सुर्खेत
वीरेन्द्रनगर कम्प्युटर एसोसियसन नेपाल महासंघ ( क्यान ) सुर्खेतको अध्यक्षमा प्रेम प्रकाश चन्द चयन भएका छन् । शनिवार वीरेन्द्रनगर मा सम्पन्न महासंघको पाँचौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले चन्दको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
पदाधिकारीमा निवर्तमान अध्यक्ष पूर्णदेव अधिकारी, उपाध्यक्षमा बलबहादुर राना, सचिवमा तिलक आचार्य, सह–सचिव निलिमा खत्री र कोषाध्यक्षमा मदनकुमार लामिछाने छन् । यस्तै सदस्यमा प्रवासकुमार शाक्य, भिम खत्री, सुशील श्रेष्ठ, लोकेन्द्र गिरी र जीवन सिजाली छन् ।
यसैगरी उद्घाटन सत्रमा बोल्दै ६ नम्बर प्रदेशका हरेक क्षेत्रमा सुचना र प्रविधिको पहुँच पु¥याउनका लागि स्थानीय सरकारसँगको सहकार्य आवश्यक रहेकोमा कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
कम्प्युटर एशोसियसन महासंघ नेपाल जिल्ला शाखा सुर्खेतको पाँचौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनका सहभागीले यस्तो बताएका हुन् ।
उनीहरुले यो प्रदेश भौगोलिक रुपमा विकट भएको भन्दै स्थानीय सरकारसँग समन्वय गरी सुचना र प्रविधी गाउँ गाउँमा पु¥याउन अत्यावश्यक रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगरलाई प्रविधीसँग जोड्ने प्रयास आफुहरुले पनि गरेको भन्दै प्रत्येक वडामा ईन्टरनेटको पहुँच पु¥याउनका लागि काम पनि भईरहेको बताउनुभयो ।
उहाँले यो कामका लागि क्यान महासंघको सहयोग र सहजिकरणको खाँचो रहेको पनि औँल्याउनुभयो ।
क्यान महासंघका केन्द्रिय उपाध्यक्ष सन्तोष थापाले क्यानको सुर्खेत शाखाले गर्नुपर्ने काम धेरै भएको उल्लेख गर्नुभयो ।
राज्यका सबै निकायसँग सुचना प्रविधीको विकासका लागि हातेमालो गर्दै जानेहो भने ६ नम्बर प्रदेशको नेतृत्व गरिरहेको सुर्खेतले अन्य जिल्लालाई पनि सिकाउँदै लैजान सक्ने बताउनुभयो ।
कार्यक्रममा आर्थिक प्रतिवेदन पेश गर्दै संस्थाका कोषाध्यक्ष प्रेमप्रकाश चन्दले क्यानको आर्थिक अवस्था मजबुत नभएको भन्दै आगामी दिनमा आर्थिक श्रोत जुटाउन केही रणनितीहरु अपनाउनुपर्ने बताउनुभयो ।
क्यान महासंघका सचिव लोकप्रसाद दाहालले महासंघको प्रगति प्रतिवदेन प्रस्तुन गर्नुभएको थियो ।
वार्षिकोत्सवको अवसरमा क्यान महासंघ सुर्खेतका संस्थापक अध्यक्ष रामकिशोर रावललाई क्यान महासंघ सुर्खेतको शाखा विस्तार गर्नका लागि महत्वपुर्ण योगदान पु¥याएको भन्दै सम्मान पनि गरिएको छ ।